जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए।
मुख्यमन्त्री सिंहले २२ बुँदामा समेटिएको पत्रमार्फत प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने ती योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका छन् ।
पत्रमा जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गण सौन्दर्यीकरण, हुलाकी राजमार्गअन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्यको शीघ्र सम्पन्नता, निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रदेशका प्रमुख सहरसँग सम्पर्कको व्यवस्था, जनकपुर जयनगर रेल्वे यातायात मालवाहक सेवाका लागि मालवाहक रेलको व्यवस्था हुनुपर्ने, जनकपुरधामस्थित १२ बिघा ९रङ्गभूमि०लाई व्यवस्थित गर्न आवश्यक पहल, मधेस प्रदेशका आठवटै जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोर निर्माण हुनुपर्ने र कमला नदीको बगरमा बगरखेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोतसाधनमा सहयोग गर्नुपर्ने लगायत रहेका छन् ।
यसैगरी भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत साधनको प्रबन्ध, कृषि अनुदान कृषकको खातामा सिधै जानुपर्ने व्यवस्था, प्रदेशस्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन, बारा तथा पर्सामा औद्योगिक करिडोर कार्यान्वयन गर्नुपर्नेलगायतका विषयमा मुख्यमन्त्री सिँहले प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गर्नुभएको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्