Ads

मनसुनजन्य विपदबाट तुलनात्मकरुपमा क्षति कम : गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट तुलनात्मकरुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले भने, “अत्यधिक वर्षा भए पनि तुलनात्मकरुपमा जनधनको क्षति कम भएको छ । त्यो पूर्वतयारीको नतिजा हो । हामीले गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेका छन् । केहीमा कमजोरी होला, तर प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम गरिरहेका छौँ ।”

बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराएका थिए ।

गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब पाँच करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिए । “थप १७ करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको छ”, उनले भने । गृहमन्त्री लेखकका अनुसार २०८१ जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य तथा विपद्का एक हजार दुई सय १२ घट्ना घटेकामा पहिरो, बाढी र चटयाङमा परी एक सय ७० जनाको मृत्यु भएको थियो । ती घट्नामा परेर ४४ जना बेपत्ता भएका छन् भने एक सय ९७ जना घाइते भएका थिए ।

गृहमन्त्री लेखकका अनुसार हालसम्म पहिरोमा परेर मात्र एक सय नौ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३९ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट ३५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । चट्याङमा परेर २४ जनाको मृत्यु भएको उनले जानकारी दिए । उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्धारमा खटिएको जानकारी दिए । आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृहकार्य गरी पूर्वतयारी गरिरहेको उनले बताए ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, व्यवस्थापनमा भइ गरेका क्रियाकलापहरुको निरन्तर अनुगमन र पृष्ठपोषण गर्नुका साथै समितिको छलफलका क्रममा रहेका अन्य विषयगत कानुन निर्माणमा विपद् जोखिम न्यूनीकरणको आयाम समावेश गर्न अपेक्षा गरिएको गृहमन्त्री लेखकको भनाइ थियो ।

बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेस भइसकेको र प्राप्त भएका सुझावअनुसार मन्त्रालयले काम कारवाही थाल्ने बताए । गत असार २८ गते नारायणगढ–मुग्लिङ खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए ।

बैठकमा सांसदहरुले गृहमन्त्री लेखकलाई सडक असुरक्षित भएका, विकासको ढाँचा परिवर्तन गर्नुपर्ने, विपदबाट पीडितलाई राहतमा ढिलाइ नगर्न, क्षति न्यूनीकरणमा र उद्धार तथा राहतमा ध्यान दिन, पूर्वतयारीलाई प्राथमिकता दिन, चाडपर्वका बेला यातायात सेवा व्यवस्थित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू