Ads

“चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न आवश्यक छ”


काठमाडौँ । चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन् । नेपाल–चीन हिमालय मैत्री समाजले नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष प्रवेशको अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी वत्ताहरुले सो कुरा बताएका हुन् ।

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको जनाउनु भयो । मन्त्री भण्डारीले नेपालको विकास र समृद्धिका लागि लगानी आवश्यकता भएको र त्यसका लागि चीन सरकारबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

“मुलुकमा विकासका लागि लगानीको आवश्यक छ, मित्रराष्ट्र चीनसँग साथ सहयोगका लागि पटकपटक सन्धि सम्झौतामा पनि भएका छन्”,मन्त्री भण्डारीले भन्नुभयो,“चीनका राष्ट्रपतिको पछिल्लो नेपाल भ्रमणका अवसरमा भएका सहमति कार्यान्वयन गर्न जरुरी छ ।” मन्त्री भण्डारीले नेपाल–चीन सम्बन्धका आयाम र महत्व परिवर्तित सन्दर्भमा अझै धेरै बढेर गएको बताउनुभयो ।

नेपालका लागि पीआर चिनियाँ दूताबासका डिपुटी चिफ अफ मिसन ध्बलन हष्ल ले चीनको विकासबाट विशेष गरी नेपालसहित विश्वका अन्य मुलुकलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्थागत क्षमता अभिवृद्धि चीनको मुख्य कार्य भएको बताउँदै यही सिद्धान्तलाई चीन सरकारले अवलम्बन गर्दै आएको बताउनुभयो । राजदूत सङले समाजवादी अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै नागरिकको गुणस्तरीय जीवन जिउने अधिकारलाई सुनिश्चित गर्न चीन सरकार लागिरहेको बताउनुभयो ।

पूर्वराजदूत टंक कार्कीले नेपाल र चीनबीच एतिहासिक तथा धार्मिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । आर्थिक विकासमा चीन अघि बढेकाले नेपाललाई सहयोग जरुरी भएको भनाइ राख्नुभएको थियो । उहाँले बीपी कोइराला, तत्कालीन राजा महेन्द्र शाह, टंकप्रसाद आचार्यलगायतको पालामा नेपाल र चीनबीचको सम्बन्ध अझ फराकिलो देखिएको उल्लेख गर्नुभयो ।

समाजका संरक्षक तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी दिनमा नेपालको सर्वभौमसत्ता, ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्पमा दुई देशको सहयोगबाट कसरी राम्रो काम गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी गराउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध आजसम्म पनि गुनासोरहित रहेको जनाउनु भयो । उहाँले १३औँ शताब्दीदेखि नै चीनको सार्वभौमसत्ता रक्षाका लागि नेपालले सहयोग गरेको स्मरण गर्नुभयो । युएनओपछि विआरआइ विश्वको दोस्रो ठूलो संगठन भएको उहाँले उल्लेख गर्नुभयो । बीआरआई एसिया, अफ्रिका र युरोपलाई जोड्ने विशाल लक्ष्य बोकेको परियोजना भएको उल्लेख गर्नुभयो ।

चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले चीनले रुल अफ ल र यसको कार्यान्वयनमा जोड दिएकाले नेपालले पनि त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चीनका राजनीतिक दलहरुकोे विकासमा सहकार्य, राजनीतिक दलहरुको गठनलगायतको बारेमा जानकारी दिनु भयो । चीनमा मल्टी पार्टी कोअपरेटिभ सिस्टम रहेको जनाउँदै वहाँले हरेक पक्षहरुमा सुधार गर्नुपर्छ भन्ने चीन नीतिको नेपालले अनुसरण गर्नुपर्नेमा जोड दिनु भयो ।
नेकपा एमाले विदेश विभाग समितिका सदस्य डा गोपाल खनालले चीनको अहिलेको आधुनिकीकरण शान्तिमा आधारित आधुनिकीकरण भएको उल्लेख गर्नुभयो । नेपालको राष्ट्रिय हितमा आधारित वैदेशिक सम्बन्ध केपी ओलीले मात्रै बनाउन सकेको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल–चीन हिमालय मैत्री समाजका अध्यक्ष राजेन्द्र गौतमले कार्यक्रम मुख्य तीनवटा विषयमा केन्द्रित भएको जनाउनु भयो । पहिलो, नेपाल चीनबीचको लामो समयदेखिको दिपक्षीय सम्बन्धलाई समृद्धी र विकासको मानकका रुपमा प्रयोग गर्न सक्नुपर्छ भन्नेमा छलफल बढी केन्द्रित भएको जनाउनु भयो । दोस्रो कुरो दुवै देशका बीचमा भएका सम्झौता तथा सहमतीलाई कार्यान्वयन गर्नमा जोड दिने कार्यक्रमको ठोस निष्कर्ष भएको उल्लेख गर्नुभयो । सम्झौता गर्ने र कार्यान्वयन नगर्ने कामलाई निरुत्साहित गर्नुपर्छ भन्नेमा सबैको विचार केन्द्रित भएको उहाँको भनाइ छ । यसैगरी नेपाल र चीनबीचको दुइ पक्षीय सम्बन्धलाई नागरिकस्तरबाट पनि बलियो बनाउन नेपाल–चीन हिमालय मैत्री समाज जस्ता संघसंस्थाले पनि आधार तयार गर्न सक्छन् भन्ने निष्कर्षमा वत्ताहरु देखिएको जनाउनु भयो । कार्यक्रमको सुरुवातमा कालिका पाठकले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू