सुदूरपश्चिम । आज अपराह्न बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम नियुक्त मुख्यमन्त्री शाहले सोही धाराको उपधारा(४)बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अध्यादेश स्वीकृत
प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ स्वीकृत भएको छ ।प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा नियमावली बमोजिम उक्त अध्यादेश पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
प्रदेशसभाबाट बजेट पारित हुन नसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन कार्य अध्यादेश जारी भएसँगै सञ्चालन भइसकेको छ ।
बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्तुत गरेकाे प्रस्तावलाई स्वीकृत गरेको छ ।
विधायन तथा प्रदेश मामिला समितिका सभापतिका दिवानसिंह विष्टले समितिमा दफावार छलफल भई तयार भएको ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिक्रिया दिनुहोस्