Ads

संक्रमणकालीन न्यायमा सहमति शान्तिका पक्षधरहरूका लागि खुसीको विषय : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन लागिएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानिबनसम्बन्धी कानुनलाई लिएका छौँ। राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ। यस अर्थमा म खुुसी व्यक्त गर्दछुु। यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन्।’

‘हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश हामी दिन सफल हुनेछौँ’, उनले भने, ‘यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको हुँ ।’ उनले २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई यतिचाँडो टीआरसीको विषयमा टुंगोमा पुग्लाजस्तो नलागेको बताएको स्मरण गरे । तर त्यतिबेला पनि आफूले महासभामा ‘आफ्नो ठाउँमा आफ्नै उपजको रुपमा शान्ति प्रक्रियालाई अघि बढाएको र टुंगोमा पुर्याउँछौँ’ भनेको स्मरण गरे ।

उनले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गरे । ‘विधेयक यहाँ छलफल भएपछि पारित हुन्छ । हामी यस सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ’, उनले भने।

Ads

सम्बन्धित पोष्टहरू