काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले १०० दिनभित्र गर्ने मुख्य कामबारे मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिव सहभागी छन् । प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबीच छिट्टै कार्यसम्पादान सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०-८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको, एक हजार छ सय माइलस्टोन निर्धारण भएकामध्ये ४२ प्रतिशत र तीन हजार चार सय २१ क्रियाकलापमध्ये ४९ प्रतिशत सम्पन्न भएको बताए। किसानको मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाईबाट उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ ।
बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अपर्याप्तता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजनाहरू समयमा सम्पन्न नभएको प्रस्तुतीकरणमा उल्लेख छ ।
समीक्षापश्चात सम्बन्धित मन्त्रालयका सचिवहरूले चालु आर्थिक वर्ष २०८१-८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ । आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले १५ साउनमा सबै मन्त्री र सचिवहरूलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्