जनकपुरधाम । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ । उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ । तटबन्धसँगै कमला नदीमा नहर लगायतका संरचना निर्माण गरेपछि उक्त आयोजना किसानका लागि बरदान सावित भएको हो ।
“कमला सिँचाइ व्यवस्थान कार्यालय पोर्ताहा धनुषा अन्तर्गत यो आयोजनाले बाढीबाट हुने क्षतिबाट हामी सुरक्षित भएका छौँ”, सिरहाका किसान रामलखन महतोले भने, “यसको निर्माण नभएको भए अहिलेसम्म कमला क्षेत्रका बासिन्दाको उठिबास भइसकेको हुन्थ्यो, अहिले खेती पनि राम्रो भइरहेको छ ।”
आयोजना कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार कमला सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ ९नहरमार्फत० सुविधा पुगेको छ । त्यसबाट ४० हजार घरपरिवार लाभान्वित भएका छन् । सो कार्यालयले आयोजनाको पश्चिमी नहर प्रणालीमार्फत धनुषाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ । धनुषाको छ नगरपालिका र दुर्ई गाउँपालिका गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिकामा सिँचाइ सुविधा पुर्याएको छ ।
सो आयोजनामार्फत सिरहाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सुविध पुगेको छ । पाँच नगरपालिका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा, सुखिपुर नगरपालिका र दुई गाउँपालिका विष्णुपुर तथा औरही गाउँपालिकामा सिँचाइ सुविधा पु(याएको छ ।
कमला पश्चिमी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्वाई १४ दशमलव ३ किलोमिटर रहेको छ । त्यसका चारवटा शाखा नहर छन् । कमला पूर्वी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्वाइ ३१ दशमलव ६ किमी रहेको छ । जसअन्तर्गत आठवटा शाखा छन् । सो कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कमला सिँचाइ प्रणालीमा मर्मत सम्भार आयोजना तथा बृहत सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरण गरी दुई कार्यक्रम सञ्चालन गरेको छ ।
यसै कार्यक्रम अन्तर्गत कमला सिँचाइ प्रणलीको ‘हेडवक्र्स’, पूर्वी तथा पश्चिमी नहर प्रणालीको मर्मत सम्भार तथा संरचना निर्माण गरेको जनाइएको छ । सोही आवमा आयोजना कार्यालयबाट कमला नदीको बाँध, ‘हेडवर्क्स’को मर्मतसम्भार पूर्वी तथा पश्चिमी नहरको ‘अन्डरस्लुस’ तथा ‘वेयर’को चारमध्ये दुईवटा ‘वेयरपोर्सन’को मर्मतसम्भार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्