काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएका छन् ।
पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिमपटक सोधिएको स्पष्टीकरणको जवाफमा उनले सभापतिका कमी–कमजोरीमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभई शुद्धीकरणको प्रयास भएको बताएका छन् ।
आफैँ ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगका संलग्न भएका लामिछानेले आफूमाथि दुराशय राखेर कारबाहीको प्रक्रिया थालेको मुकुलको दाबी छ । उनले रविमाथि सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभएको तर्क पनि गरेका छन् ।
‘तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ मुकुलले आफ्नो जवाफमा लेखेका छन्, ‘सहकारी मुद्दामा तपाईं ६-८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न । यीसँगै अन्य धेरै ठाउँमा कीर्ते, ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ ।’
सहकारीको रकम अपचलन छानबिनका लागि गठित संसदीय समितिले आज रवि लामिछानेसँग बयान लिने भएको छ । आज दिउँसो २ बजे उनीसँग समितिले बयान लिन लागेको हो । त्यसको केही घण्टापहिले मुकुलले लामिछाने सहकारी ठगीमा संलग्न रहेको र त्यसलाई आफूले प्रमाणित गर्न सक्ने दाबी गरेका हुन् ।
रविले पार्टीमा निरंकुशता लादेको मुकुलको भनाइ छ । तर, रविको निरंकुशतासँग नहार्ने उनको भनाइ छ । आफू नभएर रवि रविचाहिँ पार्टीविपरीत लागेको उनको दाबी छ ।
‘सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्ट्राचारमा लिप्त हुनुभयो । तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टीविपरीत होइन,’ मुकुलले लेखेका छन्, ‘यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नुसरह हुनेछ । पार्टीविपरीत म होइन तपाईं लाग्नुभएको छ ।’
यस्तो छ मुकुलको जवाफः

प्रतिक्रिया दिनुहोस्