महोत्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकार मुलुकको अग्रगतिका लागि बनेको बताएका छन् । स्थिर सरकार नबन्दा जनतामा बढेको निराशा चिर्न वर्तमान गठबन्धन सरकार बनेको उनको भनाइ छ ।
वैदेशिक रोजगार विभागले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको रोजगार अनुमति प्रणाली ९इपिएस० सम्बन्धी छलफल कार्यक्रममा उनले वर्तमान गठन्धनको सरकार बनेदेखि नै जनतामा अब राजनीतिक स्थायित्व हुने आशा जागेको पनि उल्लेख गरे । “जनतामा एउटा भरोसा जागेको छ, अब सरकार र राजनीतिक दलले त्यो भरोसालाई विश्वासमा परिणत गरेर देखाउनुपर्छ,” मन्त्री भण्डारीले भने ।
वैदेशिक रोजगारीमा जाने मधेसको सङ्ख्या उल्लेख्य भए पनि त्यो खाडी मुलुक र मलेसियामा सीमित रहेको भन्दै उनले आकर्षक रोजगारको अवसरमा सबैको पहुँच बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागले सचेतना बढाउन जरुरी रहेको धारणा राखे ।
कार्यक्रममा इपिएसमार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकका लागि अनिवार्य मानिने कोरियन भाषा परीक्षा र यससँग जोडिएका प्रक्रियाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी गराएको थियो ।
कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णसहितले वैदेशिक रोजगारी क्षेत्रका चुनौती र अवसरबारे चर्चा गरे ।
कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यहरू जयनुल अन्सारी, रमिला प्रधान र शारदा थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख, रोजगारसम्बन्ध संस्था ९म्यानपावर० का प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्