Ads

महिला उद्यमीलाई विकास गर्न आवश्यक सहयोग गर्नेछौँः मुख्यमन्त्री कार्की


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा आज विराटनगरमा आयोजना गरिएको तीनदिने ‘नारी उत्सव–२०८१ व्यापार मेला’को उद्घाटन गदै उनले प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत महिला उद्यामीहरूको विकासका लागि आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले भने, “महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा सहभागी गराएमा समाज र मुलुकमा आर्थिक समृद्धि कायम हुनेछ । महिला उद्यमी तथा व्यवसायीलाई सम्मान एवं प्रोत्साहन गर्नु सरकारको नीति नै हो ।

त्यसैले गत असारमा १४ जिल्लाका महिलालाई नगदसहित सम्मान पनि गरेका थियौँ । यसलाई निरन्तरता दिनेछौँ ।” उनले महिलालाई आर्थिक क्षेत्रमा समान जिम्मेवारी दिएमा मुलुकमा रोजगारी एवं आर्थिक क्षेत्र चलायमान हुने भएकाले राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले महिलालाई स्वरोजगार बनाउन यस वर्षदेखि सीपमूलक तालिम केन्द्रको सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सङ्घका अध्यक्ष अनुपम राठी, नारी उत्सवकी संयोजक श्रुति शर्मा, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल वल्र्ड आश्माकुमारी केसीले यस प्रकारका मेलाले महिलालाई उद्यम क्षेत्रमा आउन प्रोत्साहन गर्नुका साथै आर्थिक क्षेत्र चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलामा महिलाद्वारा उत्पादित विभिन्न सामग्रीका ५५ वटा स्टल रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू