Ads

रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई छिट्टै सम्पन्न हुन्छ : मन्त्री खड्का


काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई छिट्टै सम्पन्न गर्न सरकारले आवश्यक तदारुकता देखाएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद मनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खड्काले कैलालीको ३८ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु भएको आयोजना सम्पन्न गराउन स्पष्ट कार्ययोजनाका साथ काम भइरहेको बताए । आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएको सो आयोजना आव २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

गुरुयोजना बमोजिम पर्याप्त रकम व्यवस्था नहुनु, जग्गा मुआब्जाको समस्या, वनको रुख कटानमा समस्याजस्ता कारणहरुले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको उनको भनाइ छ । आयोजना लम्कीतर्फ विस्तार गरी कूल छ हजार हेक्टरका लागि सिँचाइ सुविधा उपलब्ध गराउन शाखा–प्रशाखा नहरलगायतका काम बाँकी रहेको छ ।

हालसम्म सो आयोजनामा रु २० अर्ब पाँच करोड बढी खर्च भएको छ । सो आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत बराबर भएको छ । आयोजनाको दुई वटा खण्डको काम अन्तिम चरणमा रहेको भए पनि तेस्रो खण्डको काममा केही ढिलाइ भएको जानकारी दिँदै समस्या समाधानका लागि पहल भएको मन्त्री खड्काले बताए । सो आयोजनाको कूल लागत रु २७ अर्ब ७० करोड बराबर रहेको छ ।

अधुरा आयोजना सम्पन्न गर्ने र परिमाणमुखी बनाउने सरकारको लक्ष्य रहेको मन्त्री खड्काले सदनलाई जानकारी दिए । यस्तै, बुढीगण्डकी जलविद्यत् आयोजनालाई अगाडिबढाउन सरकारले आवश्यक पहल गरिरहेको उनले जानकारी दिए । सुनकोशी मरिण डाइभर्सन आयोजनालाई पनि उत्तिकै प्राथमिकता दिएर काम गरिरहेको उनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘आदिवासी जनजाती आयोगको आव २०७९/८० को चोथो वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गरे ।

त्यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते मङ्गलबार १ स् १५ मा बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू