Ads

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- जनताको ‘राउण्ड किक’ कस्तो हुन्छ, तिनले देख्नेछन्


काठमाडाैं ।जनताको ‘राउण्ड किक’ कस्तो हुन्छ, तिनले देख्नेछन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले संविधानविपरीतका अभिव्यक्तिहरू दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शहीदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको बताए । यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उनको भनाइ छ ।

‘जनयुद्ध’लाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर, अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’

प्रधानमन्त्रीमै बसेका नेताले ‘आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको प्रचण्डको भनाइ छ । उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’

पटकपटक शहीद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण ‘जनयुद्ध’का ‘शहीद’ले राष्ट्रिय शहीदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर शहीदको नामावली राजपत्रमा प्रकाशित गरिएको उनले बताए । अब ‘जनयुद्ध’का शहीदले राष्ट्रिय शहीदको मान्यता प्राप्त गरेको उनले बताए । ‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ,’ उनले भने ।

‘जनयुद्ध’ थालनी भएको दिन फागुन १ लाई ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषदबाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको उनले बताए । अब टीआरसी विधेयक पारित भएपछि ‘जनयुद्ध’लाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।

आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै प्रचण्डले संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए । परिवर्तनविरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

Ads

सम्बन्धित पोष्टहरू