चितवन। वर्षीया नमिता चेपाङले पहिलोपटक लट्टेको स्वाद लिँदै गर्दा उनलाई यो परिकार नौलो लाग्यो। जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गरेकी नमिताले यसअघिका पर्वमा मासु र भातमात्रै खाएको सुनाइन्।
अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो लाग्यो। केन्द्रमा रहेका एक सय ५० चेपाङ बालबालिकालाई तीजको अवसरमा नेपाल प्रेस युनियनले आज लट्टे खुवाएको हो। नमिताले भनिन्,‘तीज मैले पहिलोपटक सुनेकी हुँ, हामीले त न्वागी पर्व मनाउथ्यौं।’
सोही केन्द्रमा रहेकी १६ वर्षिया जुना चेपाङले पनि पहिलोपटक लट्टेको स्वाद लिइन्। उनले भनिन्,‘मलाई त नौलो परिकार मिठो लाग्यो।’ कक्षा नौ मा अध्ययनरत जुनाले आफूहरूले खासै गुलियो नखाने गरेको भन्दै भातमा चिनी हाल्दा मिठो लागेको सुनाइन्।
केन्द्रका संस्थापक अध्यक्ष केपी किरण शर्माका अनुसार अधिकांश बालबालिकाले पहिलोपटक लट्टे खाएर तीज पर्व मनाएका हुन्। त्यहाँ चितवनको भरतपुर महानगरपालिका वडा नं २९ इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका रहेका छन्। त्यस्तै गोरखाको गण्डकी गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बालबालिका पनि रहेका छन्।
प्रतिक्रिया दिनुहोस्