काठमाडाैं । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको सत्ता गठबन्धनको लामो समयपछि नेपाली कांग्रेस औपचारिक रूपमा सरकारमा सहभागी भएको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसका पुर्व प्रमुख सचेतक भूपेन्द्र राईले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै कांग्रेस मन्त्रीहरूको नेतृत्व गरेका छन् । त्यस्तै खगेनसिंह हाङ्गामलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डललाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ । भूमिप्रसाद राजवंशीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । याेसँगै कोशी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिएका हुन् ।
डा. शेखर कोइराला समूहका लागि एक मन्त्री र एक राज्यमन्त्रीको कोटा छुट्याइएको छ, तर नाम नआएकोले नियुक्त भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्