Ads

प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई चुस्त, छरितो र विश्वसनीय बनाउन प्रविधिमैत्री हुनुपर्ने बताएका छन् । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको आज निरीक्षण गर्दै मन्त्री गुरुङले सबैभन्दा संवेदनशील सेवा भएकाले सेवाग्राहीमैत्री एवं विश्वसनीय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

यो वर्ष राष्ट्रिय हुलाक नीति बनाएर हुलाकसँग सम्बन्धित अधिकांश समस्या समाधान गर्ने विश्वास दिलाउँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले हप्ताको एक दिन ट्रकमार्फत डाँक सेवा प्रदान गर्दैै आएकामा अबदेखि दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्न निर्देशन दिए । “किन हप्ताको एक दिन सेवा दिने रु सहजीकरण गर्न मन्त्रालय तयार छ । तर, दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्नुहोस्”, उनले भने, “अहिलेको समयमा जतिसक्दो चाँडो सेवा दिन जरुरी छ ।”

हुलाक कार्यालयका सबै गतिविधिलाई डिजिटल बैंक ९इसेवा, क्युआर० बाट भुक्तानी गर्ने व्यवस्थामा लैजानुपर्नेमा जोड दिँदै उनले विश्व हुलाक सङ्घसँग सम्झौता गरिएकाले सङ्घको मापदण्डअनुसार हुलाक कार्यालयको संरचना बन्नुपर्ने धारणा राखे ।

सञ्चार तथा सूचना मन्त्रालयका सचिव राधिका अर्यालले विसं १९३५ मा ‘नेपाल हुलाक घर’ को नामबाट सेवा सुरु गरेको गोश्वारा हुलाक आफैमा ऐतिहासिक महत्त्व रहेको बताए । समयानुकूल प्रविधिमैत्री हुलाक बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उनले आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पुर्‍याउने रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिए ।

“हुलाक सेवा विश्वसनीय र भरपर्दो छ भन्ने जनमानसमा धारणा सिर्जना गराउने काम कर्मचारीको हो”, उनले भने, “तपाईँहरूलाई आवश्यक के के स्रोतसाधन चाहिन्छ, मन्त्रालय सधैँ सहकार्य गर्न तयार छ ।”

गोश्वारा हुलाक कार्यालय प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीले गोश्वारा हुलाक कार्यालयले प्रदान गर्दै आएको सेवा, समस्या, चुनौती र भावी अपेक्षाबारे मन्त्री समक्ष प्रस्तुति दिए । उनले विना तालिम, सिमित जनशक्ती र व्यवस्थित नीति नहुँदा हुलाक सेवा प्रवाहमा चुनौती खेप्नुपरेको बताए । हुला कार्यालय थुप्रै आधुनिक सेवा प्रवाह थालनी गरेको भए पनि प्रचारको अभावका कारण जनस्तरले अपेक्षाकृत सेवा लिन नसकेको बताए । उनले पार्सल सेवामा निजीस्तरबाट मनपरी शुल्क लिने गरेको बताउँदै यसको नियमन गर्न आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू