काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।
क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो ।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन । सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो । यस अघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।
त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।
बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्