ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनलाई सम्बोधन गर्न नसके स्मार्ट सिटी हुन नसक्ने बताएका छन् । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाद्वारा आज आयोजित आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले स्मार्ट सिटी हुनका लागि विपद् व्यवस्थापनका काम चुस्त राख्नुपर्छ भने । उनले फिलिपिन्सबाट अग्नि नियन्त्रक बोलाएर नगरप्रहरीलाई तालिम दिएको जानकारी गराए ।
उनले भने, “विश्वमै विपद् व्यवस्थापनमा जापान पहिलो हो, त्यसपछि फिलिपिन्स छ, हामीले फिलिपिन्सबाट अग्निनियन्त्रकलाई बोलाएर तालिम दिएर सक्षम बनाएका छौँ, विपद् प्रतिकार्यमा नेपालका नगरपालिकामध्ये नम्बर एकमा कायम रहन चाहन्छौँ ।” उहाँले विपद्को चार मिनेटभित्रै घटनास्थलमा दमकलसम्बन्धी साधन पुग्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय विपद्को मान्यतालाई कायम राख्दै काम गर्छौँ भन्ने प्रतिबद्धता जनाए । उनले भने ,“विपद्का सबै कार्य एउटै छानामुनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ पुल्चोकको जुद्धबारुण यन्त्रसँगै दमकल, एम्बुलेन्स, बहानलगायतका सामग्रीको व्यवस्थापन गरिएको छ ।”
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जनताको जीउधनको सुरक्षा महानगरको मुख्य जिम्मेवारी रहेको भन्दै समयमा विपद् व्यवस्थापन गर्न नसक्दा जनधनको धेरै क्षति हुने जानकारी गराए । उनले भने, “सानो गल्तीले हुने हानी र अग्निको व्यवस्थापन गर्न नसक्दा धेरै क्षति हुन्छ, अरुबाट पाठ सिकेर त्यही खालका गल्ती नदोहोरियोस् भनेर सचेतना अभियान थालेको हो । ” प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आगलागीबाट हुने घटनाबाट जोगिन हरप्रहर सचेत रहन र घटनाघट्नासाथ विपद् व्यवस्थापनका लागि सूचना प्रवाह गरेर नियन्त्रणमा लिएर क्षति हुनबाट बचाउन लागि पर्ने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्