Ads

नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कार्कीको निधन


काठमाडाैं । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ ।

२०११ सालमा जन्मिएका कार्की लामो समयदेखि मधुमेह र दुई वर्षदेखि मिर्गौलाको समस्यासँग जुधिरहेका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका कार्की लामो समयदेखि मधुमेह र मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।

७० वर्षीय कार्कीको पाल्पा तानसेनमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले २०३६ सालको जनमत सङ्ग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए ।

कार्कीले २०४६ साल र २०६२–६३ को जनआन्दोलन सफल बनाउन पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेका उनका समकालीनहरु बताउँछन् । कार्की संविधान सभाका लागि नागरिक अभियानको उपाध्यक्ष भएर संविधान सभा चुनावमार्फत संविधान बनाउनुपर्छ भन्ने आन्दोलनमा पनि क्रियाशील थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै कार्की २०३६ साल र २०४६ सालमा जेलसमेत परेका थिए । उनका एक श्रीमती भगवती, छोरी निरु , बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्ष अघि मृत्यु भइसकेको छ ।

पञ्चायतकालमा कम्युनिष्ट नेता कार्यकर्ता र वामपन्थी पत्रकारका लागि कार्कीको निवास सेल्टर जस्तै बनेको समेत पदम कार्कीले स्मरण गरे । नेकपा मसालबाट राजनीति सुरु गरेका कार्की संयुक्त जनमोर्चा, एकता केन्द्र हुंदै माओवादी केन्द्र निकट थिए ।

Ads

सम्बन्धित पोष्टहरू