Ads

तुलसीपुरस्थित गौरीगाउँ ताल  ओझेलमा


दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।

वरिपरि ताल र बीचमा मन्दिर निर्माण गरिएको छ । जहाँ कुनै समय सातवटा ताल थिए । तर अहिले ती सबै ताललाई एउटै बनाइएको छ । करिब आठ बिघा क्षेत्रमा फैलिएका उक्त तालको अवलोकन गर्न आउनेको अवस्था भने न्यून रहेको स्थानीयवासी रमेश बुढाथोकीले बताए । “यही बाटो हुँदै हिँड्नेहरू केही तस्वीर  खिच्ने अड्न्छिन्”, उनले भने, “तर अवलोकन नै गर्ने भनेर आउनेहरू विरलै हुन्छन् ।”

दाङमा नै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको उक्त ताललाई प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । तुलसीपुर बजारबाट नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उनले बताए । “विकट क्षेत्रका स–साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्”, उनले भने, “बजार क्षेत्रमा रहेको यति ठूलो ताल ओझेलमा परेको छ ।”

तालको बीचमा करिब एक करोडको लागतमा शिवमन्दिर निर्माण गरिएको छ । तुलसीपुर–१०  गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको मन्दिरमा पाँचवटा मूर्ति राखिएको छ । शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँचवटा मूर्ति राखिएको छ । साथै मन्दिरमा पुग्न करिब ४५ मिटरको पुल पनि निर्माण भएको छ । वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । तालमा माछापालन पनि गर्ने गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू