Ads

पीडित भन्छन् : विपद्का बेला गाउँमा सरकार आए जस्तै भयो


भक्तपुर । कुनै सङ्केत नै नदिई आउने विपदमा प्रायः पीडितहरु पीडामा हुन्छन्, केही छिमेकीले सहयोग गरे पनि धेरै रमिते हुन्छन् । पछिल्लो समय विपदमा सहयोग गर्नेभन्दा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने धेरै हुन्छन् ।

विपद् आएर गाउँमा एकै परिवारको एकै चिहान हुँदा, पहिरोले बाटो रोकिएर शवदेखि घाइतेसम्म अस्पताल पुर्याउन नसक्दा बागमती प्रदेशका स्वास्थ्यमन्त्री आफैँ नेतृत्व गरेर जनप्रतिनिधिसहितको टोली लिएर गाउँ पुग्दा पीडित र गाउँका बासिन्दाले साँच्चिकै सरकार दैलोमै आएको महसुस गरेका छन् ।

शनिबारको अविरल वर्षाले सूर्यविनायक नगरपालिका–८ पाटी भञ्याङ नैचालमा एकै परिवारका दुई जनाको ज्यान लिने र एकजना घाइते हुने गरी आएको पहिरोले जिल्लाको सदमुकामबाट सम्बन्ध विच्छेद भएपछि पीडामा परेका बासिन्दालाई राहत दिन जिल्लाका दुर्गम गाउँमा सहयोगको हात फैलाउँदै सरकारका मन्त्री आफैँ उपस्थित भएपछि स्थानीयले पीडा भुलाउँदै जीवन सहज बनाउन थालेका छन् ।

पहिरोले डोलेश्वर हुँदै पाटीभञ्ज्याङ जाने एक मात्र सडक बन्द गराएपछि मानिसको आउजाउ मात्रै रोकिएन मृत्यु भएका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको शव परीक्षणका लागि अस्पताल पुर्याउन तथा पहिरोमा परेर घाइते भएका मृतक मसलीका पति ५१ वर्षीय सानुकान्छा तामाङको उपचारका लागि अस्पताल लैजाने बाटोसमेत रोकियो ।

पीडाले अन्योलमा परेका स्थानीयले रातभर गाउँमै शव राखे घाइतेलाई अस्पताल लैजान सकेनन् । तब आइतबार एकाबिहानै हिलाम्मे सडक पार गर्दै जब डोजरसहितको टोली लिएर प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाको टोली लिएर गाउँ छिर्नुभयो तब गाउँका बासिन्दाले गाउँघर र दैलोमै सरकार आइपुगेको महसुस गरे ।

स्थानीय अजय तामाङले गाउँ पीडामा परेर शव व्यवस्थापन र घाइतेलाई अस्पताल लैजान नसकेको अवस्थामा मन्त्रीले बाटो खुलाउन डोजरदेखि शव लैजान शववाहन र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स लिएर आएपछि साँच्चै गाउँमै सरकार आएको अनभूति भएको बताउनुभयो ।

घाइते सानुकान्छाले अस्पतालको शय्याबाटै भन्नुभयो, “भूकम्पले घर लग्यो, टहरामा बसेको नौ वर्ष भयो, यस वर्ष त त्यही टहरो पनि पहिरोले लग्यो, पहिरोले टहरो मात्रै लगेन जहान र पाहुना लाग्न आएकी सालीलाई लग्यो, विपदमा सहारा बनेर मन्त्री आउँदा सरकार नै गाउँमा आए जस्तै भएर चित्त बुझाएको छु ।”

मन्त्री थापासँगै वडाध्यक्ष पुष्पराज बस्नेत, अजय तामाङ, वडा सदस्य विक्रम तामाङ, जिल्ला समन्वय समितिका सदस्य विश्वराम त्वायनावासु, रेडक्रस सोसाइटी सिपाडोल शाखालगायतको टोली दिनभर खटिएको थियो । दिनभरि पहिरोमा सडक खुलाएपछि मन्त्री थापा आफैंले शववाहन र एम्बुलेन्स बोलाएर मृतकद्वयको शव परीक्षणका लागि भक्तपुर अस्पताल पुर्याउनुभयो । उहाँले एम्बुलेन्समा घाइतेलाई आफैँले भक्तपुर अस्पताल पुर्याएर आइसियूमा भर्ना गराउनुभयो । घाइते तामाङको भक्तपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “हामी नेता पदमा हुँदा पनि नहुँदा पनि जनताको दुःखमा साथ दिनै पर्छ, विपदमा जिम्मेवारीबाट पन्छिन मिल्दैन, जनतालाई छाड्न सकिन्न, त्यसैले सडक खुलाउन शववाहन र एम्बुलेन्स ल्याउन, घाइतेको उपचार गर्न, मृतकको दाहसंस्कार गर्नसमेत सहभागी भइयो, आजदेखि बाँकी सडक खुलाउन र विपदमा परेकाको उद्धार एवं राहत वितरणमा खटिनेछु ।”

उहाँले सूर्यविनायकमा पहिरोले धेरै क्षति पुर्याएको बताउँदै चार ठाउँमा सयौँ रूखसहित पहिरो आएर धेरै सडक अवरुद्ध भएको बताउनुभयो । आज डोलेश्वर हुँदै पाटी भञ्ज्याङ, आशापुरी, नैचाल, मानेभञ्ज्याङ, पाइलट बाबा आश्रम अगाडिको ठूलो पहिरो र घ्याम्पे डाँडा, रानीकोट जाने सडकको ठूलो पहिरो पन्छ्याउने कार्य जारी रहेको मन्त्री थापाले बताउनुभयो ।

अस्पतालको अनुगमन, घाइतेको निःशुल्क उपचार गर्न निर्देशन 

स्वास्थ्य मन्त्री थापाले भक्तपुर अस्पतालमा उपचार भइरहेको घाइतेका अवस्थाबारे जानकारी लिनुभएको छ । भक्तपुर अस्पतालको अनुगमन गर्दै उहाँले घाइतेको अवस्थाका बारेमा जानकारी लिँदै निःशुल्क उपचार गर्न निर्देशन दिनुभयो । प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठसहित भक्तपुर अस्पताल पुग्नुभएका स्वास्थ्य मन्त्री थापाले उपचाररत बिरामीहरुसँग भेट गरी उपचारको अवस्था र स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

अस्पतालमा उपचारको अवस्थाबारे अस्पतालका निर्देशक डा गौतमले उद्धार गरी ल्याइएका घाइतेको स्वास्थ्य उपचार एवं अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अस्पतालले आकस्मिक सेवालगायत सबै सेवा सञ्चालन गरिरहेको र अस्पतालले प्रदेश सरकारको निर्देशन अनुसार सबै उपचारका लागि आवश्यक आकस्मिक कक्ष, आइसियू, सिसियू, शल्यक्रियालगायत सबै सेवा सञ्चालन गरी थप शय्या र जनशक्ति तयारी अवस्थामा राखेको निर्देशक डा गौतमले जानकारी दिनुभयो ।

मन्त्री थापाले बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न र विपदमा आउनसक्ने सम्भावित प्रकोपका लागि तयारी अवस्थामा रहन अस्पताललाई आग्रह गर्नुभयो । उहाँले अस्पतालमा डेङ्गी सङ्क्रमणलाई दृष्टिगत गर्दै सञ्चालित फिभर क्लिनिक, डाइलासिसका लागि निर्माणाधिन संरचना र सिटी स्क्यान उपकरणका स्थलको अनुगमनसमेत गर्नुभयो । प्रदेशका १३ वटै जिल्लाका अस्पताललाई बाढी र पहिरोमा परेकाको निःशुल्क उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएको प्रदेश मन्त्री थापाले बताउनुभयो ।

तीन दिनसम्म पनि डुबान क्षेत्रवासी प्रभावित 

डुबानमा परेको आज तीन दिन हुँदा पनि डुबान क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । घरको भुइँतलामा गन्हाउने हिलो फ्याँक्ने, कोठामा चुर्लुम्म डुबेर हिलाम्मे भएका भान्छाका सामान, डुबेर कामै नलाग्ने चामल, दाललगायतका खाद्यान्न, घरभित्रका खाट, हिलाम्मे सिरक डसना, सोफा, लत्ताकपडा, टिभी, फ्रिज, कार्पेटलगायत अन्य घरायसी सामान बाहिर घाममा छरपष्ट देखिन्छन् ।

व्यापारिक केन्द्रका रुपमा रहेका बजारको भुइँतलाका खाजा पसल, होटल रेष्टुरेष्ट, किराना पसल, मोबाइल, टिभी, फर्निचर, रेडिमेडलगायतका भुइँतलामा रहेका अधिकांश पसलमा मोटर लगाएर भरिएको पानी बाहिर फ्याल्ने र बिग्रिएका लाखौँका सामान बाहिर घाममा सुकाएको दृश्य आजसम्म पनि उत्तिकै देखिएका छन् ।

आज पनि मध्यपरथिमि नगरपालिकाको राधेराधे, सूर्यविनायक नगरपालिकाका बालकोट, दधिकोटको गडेधाराटोल, सिपाडोल, भक्तपुरका विभिन्न क्षेत्रका पीडित बासिन्दा आज पनि डुबान क्षेत्रको सरसफाइमा लागेका देखिन्छन् ।

सिपाडोल, गुण्डु, दधिकोटलगातका क्षेत्रमा सयौँ रूखसहित आएको पहिरोले अवरुद्ध गरेको सडक खुलाउने कार्य आज पनि जारी रहेको छ । पहिरोले जोखिममा परेका घरलाई सुरक्षित गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ग्रामीण नाका खोल्ने कार्य भएको तर मुख्य साँगा नाका भने बन्द नभएको बताउनुभयो ।

बाढी पहिरोमा पशु चौपायाको क्षति, भत्किएका घर, टहरा र व्यापारिक क्षेत्रमा भएका क्षतिको विवरण सङ्कलन गर्ने कार्य थालनी भएको बताउँदै उहाँले स्थानीय तह, उद्योग वाणिज्य सङ्घलगायतबाट क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । विपद्मा परेकाहरुलाई राहत वितरण गर्ने कार्य पनि रेडक्रसमार्फत सुरु भएको उहाँले बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू