Ads

परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै


काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहेका छन् ।

सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको छ ।

सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यान्माका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरे । त्यसैगरी मन्त्री डा राणासँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गरेको थियो । ती भेटहरुमा आपसीहित र चासोका विविध विषयका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो ।

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कंदै छन् ।

Ads

सम्बन्धित पोष्टहरू