काठमाडाैं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एसएसबीका महानिर्देशक अमृत प्रसादको नेतृत्वको टोलीले गृहमन्त्री लेखकसँग भेटवार्ता गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल र एसएसबीले नेपाल-भारत सीमा क्षेत्रमा सौहार्दपूर्ण वातावरण बनाएको विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिए।
गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो।
‘नेपाल-भारतबिच सदियौ पुरानो सम्बन्ध छ,’ उनले भने, ‘सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु।’
भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो।
प्रतिक्रिया दिनुहोस्