काठमाडाैं । नेकपा माओवादी केन्द्रले आधार क्षेत्र मानेको रुकुम पूर्वमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले मोर्चाबन्दी गरेका छन् ।
अासन्न उपनिर्वाचलमा रुकुम पूर्वमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले मोर्चाबन्दी गरेर अगाडि जाने सहमति गरेका हुन् ।
मंसिर १६ गते हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेका छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुई दलको सहमतिअनुसार अगाडि जाने सम्झौतामा हस्ताक्षर गरेर सोही अनुसार अघि बढिएको बताए । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने सहमति गरेको बताए ।
यस्तै २ नं वडामा पनि कांग्रेस र एमालेबीचको सहमतिमा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदार बनाउने सहमति दुई दलबीच भएको छ । सहमति पत्रमा कांग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।
उक्त गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । माओवादीले उपाध्यक्षमा ज्ञानदेवी पुन र वडा नम्बर २ का वडाध्यक्षमा जगत घर्तीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्