Ads

प्रधानमन्त्रीले पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा ओडाए राष्ट्रिय झण्डा


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।

सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए । ‘नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ’, उनले भने ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

त्यस क्रममा देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेलेको स्मरण गर्दै उनको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताए । ‘उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ’, देउवाले भने ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू