Ads

बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता


काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मंसीर ११ गते मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर विप्लवले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

बालुवाटरमा भएको भेटवार्तामा विप्लवले चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसँग नडराउन प्रधानमन्त्रीलाई सुझाव दिएकाे जनाएको छ।

भेटमा नेताहरूले देशको स्थिति जटिल बन्दै गएको र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बताएका थिए । भेटमा यसअघि नेकपासँग गरिएको तीन बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमतिपछि पनि गिरफ्तार गरिएका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरिएको नेताहरूले बताएका छन् ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार दृढ भएको बताउँदै छिट्टै टुङ्गोमा पुर्‍याउने जवाफ दिएका थिए । भेटवार्तामा नेकपा एमाले र नेकपाबीचको छलफल र सहकार्यलाई अघि बढाउने विषयमा समेत कुराकानी भएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू