Ads

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त


कैलाली। सुदूरपश्चिमको गौरवको आयोजना सेती लोकमार्ग निर्माण सुस्त बनेको छ। पछिल्लो दुई वर्ष ठप्प रहेको काम हालै सुरु भएको छ।

तर, अझै लोकमार्ग बन्नेमा स्थानीय ढुक्क छैनन्। राजनीतिक दल, जनप्रतिनिधिको चासो नहुँदा लोकमार्गले तीव्रता पाउन नसकेको स्थानीय डिल्लीराज जोशीले बताए। ‘बर्सेनि बजेट आउँछ। फ्रिज भएर जान्छ। थुपै्र पटक डेलिगेसन गयौं। कसैबाट सुनुवाइ हुँदैन,’ उनले भने, ‘यो सडकलाई नेताहरूले चुनावी नारा मात्र बनाउने गरेका छन्।’

लोकमार्ग कैलालीको बौनियाँबाट सुरु भई डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोडिन्छ। अहिले रोकिएको काम चार चरणमा सुरु भएको छ। कैलालीको बौनियाँ, डोटी कैलालीको सिमाना, अछामको साँफेबगरदेखि चित्रेतर्फ र उत्तरको घुघुरकोटदेखि ३० किमि स्तरोन्नति थालिएको हो। कैलाली खण्डमा दुई पक्की पुल बनाउन टेन्डर आह्वान गरिएको छ।

बर्दगोरिया गाउँपालिका–३ स्थित काँडा र मोहन्याल गाउँपालिका–२ कोल्तडीस्थित झाप्री खोलामा पुल बन्ने सेती लोकमार्ग साँफेबगर कार्यालयका प्रमुख राजेशकुमार यादवले बताए। ‘सेती लोकमार्गमा १५ वटा पुल बन्ने छन् त्यसमध्ये ८० करोड लागतमा यी दुई पुलको टेन्डर गरिएको हो। अन्य पुलको डिजाइन बन्दैछ,’ उनले भने। रूख कटान आदेश नहुँदा लामो समयदेखि लोकमार्गको काम प्रभावित हुँदै आएको छ। दक्षिणी खण्डको सबै ठेक्का यो वर्ष लगाइसक्ने यादवको भनाइ छ। ‘केहि महिनामा रुख कटान आदेश आउँछ,’ उनले भने, ‘जनप्रतिधि र सरोकारवालासँग समन्वय गरिरहेको छु।’

एक वर्षभित्र ट्याक खोलिसक्ने गरी ठेक्का व्यवस्थापन गर्न कार्यालय जुटेको छ। डोटीमा ४२ किमि र कैलालीमा २८ किमि ट्र्याक खुल्न बाँकी छ। डोटी क्षेत्रमा काम गर्नुपर्ने कार्यालयले जनाएको छ। यो वर्ष दक्षिणी खण्ड २ सय ४२ किमिका लागि ३० करोड बजेट छ। हालसम्म १ सय २५ किमि मात्र ट्र्याक खोलिएको छ। सुदूरपश्चिमको राजधानी धनगढीबाट साँफेबगर सडकको लम्बाइ २ सय ६० किमि छ।

सेती लोकमार्ग सञ्चालनपछि १ सय २९ किमिमा झर्नेछ। जसले स्थानीयलाई आवतजावतमा समय र खर्च आधाभन्दा कम हुन्छ। नेपालको चार धाममध्येको एक वैद्यनाथ क्षेत्र, जडिबुटी, रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रबद्र्धन तथा सहज पहुंँच र भारतबाट मानसरोवर क्षेत्रमा जाने तीर्थयात्रीहरूका लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ। विकट जिल्ला बझाङ, अछाम र बाजुराको तराईसँग सहज पहुँच हुनेछ।कान्तीपुर गिता कुँवर

 

Ads

सम्बन्धित पोष्टहरू