काठमाडाैं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने भएका छन् ।
सोमबारदेखि २० मंसिरसम्म प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका छन् । त्यही छेकोमा लु भारत, श्रीलंका हुँदै नेपाल आउन लागेका हुन् ।
लु ले ३ डिसेम्बरदेखि १० डिसेम्बर (१८-२५ मंसिर) सम्मको भ्रमणका लागि यी देशहरूमा आउन लागेका हुन् । उनी अमेरिकाको दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरूसँग भेटवार्ता पनि गर्नेछन् । भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
उनको यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुकसँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाको विश्वास छ । लुले यसअघि पनि तीन पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस्