काठमाडाैं । स्थानीय तहको उपनिर्वाचनमा उत्साहजनक मत पाएको माओवादीले आफूले अघि सारेका एजेण्डा र अभियानलाई जनताले अनुमोदन गरेको बताएको छ । साथै, एक्लै चुनाव लड्दा माओवादीलाई जनताले अनुमोदन गरेको पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड’ले स्थानीय तहमा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका हुन् ।
‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ’, प्रचण्डले भनेका छन् ।
उपनिर्वाचनलाई माओवादीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको प्रचण्डले स्मरण गरेका छन् ।
‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौं’, प्रचण्डले भनेका छन् ।
माओवादीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका प्रचण्डको दाबी छ । आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर पूर्णरूपमा जनताको सेवामा जनप्रतिनिधिलाई परिचालन गर्न माओवादी प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ ।
उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई माओवादीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशका रूपमा लिने प्रचण्डले बताएका छन् ।
‘यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु’, प्रचण्डले विज्ञप्तिमार्फत भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्