काठमाडाैं । भारतीय चर्चित खेलाडी शिखर धवनकाे अर्धसतकका बावजुत कर्णाली याक्स नेपाल प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोर्न पुगेको छ ।
काठमाडौं गुर्खाजले पहिलो जित निकाल्ने क्रममा कर्णाली याक्सलाई ३ विकेटले हरायो । कर्णालीको यो लगातार दोस्रो हार हो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले पूरा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४५ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा काठमाडौंले तीन बलअघि ७ विकेट गुमाउँदै जित निकालेको हो ।
अन्तिम दुई ओभरमा २१ रन चाहिएको अवस्थामा थियो । क्रिजमा कप्तान करण केसी र सुमित महर्जन थिए । कर्णालीका कप्तान सोमपाल कामीले १९औं ओभरमा ९ बल खेल्दै समान दुई छक्का र चौका प्रहार गरेका करण केसीलाई देव खनालबाट क्याच आउट गरे । सोमपालले १४ रन खर्चिए । अन्तिम ओभर लिएर कर्णाली याक्सका नन्दन यादव आए । ७ रन चाहिएको अवस्थामा सुमित यादवले फिनिसरको भुमिका खेल्दै काठमाडौंलाई जित दिलाएका हुन् । सुमितले ३७ बलमा सर्वाधिक ४० रन बनाए ।
पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेट र काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएका थिए ।
काठमाडौंको लागि अलराउन्डर जेरार्ड इरास्मसले २८ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । यसअघि २२ रन बनाएका ओपनर माइकल लेभिटलाई नन्दन यावदको बलरमा शिखर धवनले क्याच गरेका थिए ।
ओपनर शंकर राना ६, स्टेफन इस्किनाजी ३, भिम सार्की ९ रन बनाएर पेभिलियन फर्किएका थिए ।
कर्णाली याक्सको लागि सोमपाल, नन्दन यादव, गुल्शन झा, जिसन मक्सूद र बिपिन शर्माले समान एक विकेट हात पारे ।
यसअघि कर्णालीको लागि भारतीय चर्चित खेलाडी शिखर धनवले ५२ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रन बनाए । उनले पूरा २० ओभर नै खेलेका थिए । एनपिएलको आफ्नो दोस्रो खेलमा धवनले ४२ बलमा समान तीन चौका र छक्कासहित ५१ रन बनाएका हुन् । १७।५ ओभरमा उनले अर्धसतक बनाउँदा कर्णालीले पाँच विकेट गुमाउँदै १२४ रन बनाएको थियो । पहिलो खेलमा जनकपुरविरुद्ध धवनले १४ रन बनाएका थिए ।
कर्णाली याक्सले पावर प्लेमा सुस्त सुरुवात गर्दै दुई विकेट गुमाएर ३९ बनायो । धवनले मात्रै ६ बल खेलेर चार रन बनाएका थिए । धनवसँगै ओपनिङमा आएका देव ३ बल खेलेर डक आउट भए । तेस्रो नम्बर क्रिजमा आएका चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाएका हुन् ।
बाबर हायत पनि १९ बलमा एक चौकासहित १० रनमा पेभिलियन पर्किएपछि ८।१ ओभरमा कर्णालीले तीन विकेट गुमाउँदा मात्र ४९ रन बनाएको थियो । पाँचै नम्बर क्रिजमा आएका गुल्शन झा पनि १९ बलमा एक चौकासहित १२ रन बनाएर क्याच आउट भए ।
१४।३ ओभरमा पाँचौ विकेटको रुपमा चार रन जोेडेका अर्जुन घर्ती आउट हुँदा कर्णालीले जम्मा ८४ रन जोड्यो । ओमानका जिसन मक्सूदले ११ बलमा १४ रन बनाए ।
काठमाडौं गुर्खाजको लागि नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरास्मसले दुई विकेट लिए । कप्तान करण केसी, नाथन सोव्टर, दीपेश कँडेलले समान एक विकेट लिएका थिए ।
आज नै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्