नेपाल र चीनबीच बेल्ड एण्ड रोड इनिसिएभिट (बीआरआई)को फ्रेमर्वकमा हस्ताक्षर भएको छ । नेपालले प्रस्ताव गरेको फ्रेमवर्कमा केही संशोधनसहित बुधबार हस्ताक्षर भएको हो।
नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृत राई र चिनियाँ समकक्षीले बेइजिङमा हस्ताक्षर गरेका हुन् । नेपालले प्रस्ताव गरेको ‘अनुदानमा आधारित लगानी’ भन्ने शब्दलाई परिमार्जन गरेर हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
हस्ताक्षर समारोहमा नेपालका लागि चिनियाँ राजदूत छङ सोङ लगायत उपस्थित थिए । नेपालले प्रस्ताव गरे अनुसारको आर्थिक सहयोगलाई अनुदान मान्न चीन तयार नभएपछि मंगलबार बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार भएको भेटका क्रममा विभिन्न ९ सहमति भएका थिए ।प्रधानमन्त्री चीन भ्रमणमा रहेको समयमा बीआरआई फ्रेमवर्कमा सहमति भएको हो । उनले मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटपछि मंगलबार नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्