काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन् ।
दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन् ।
काठमाडौंमा रहँदा नेपाल सरकारका नेतृत्वकर्तासँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । लुको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।
लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि तीनपटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लोपटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।
उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आएका थिए । त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्