काठमाडाैं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फिर्ता भएका छन्।
भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भेट गरेनन्। तर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए।
सहायक विदेशमन्त्री लु अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुआत कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागि भए।
उनले नेपाल–अमेरिका सम्बन्धमा विविध आयाम बारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयनप्रति सन्तोष व्यक्त गरेका छन्।
यस परियोजनाको निर्माणले नेपालको ऊर्जा र सडक पूर्वाधारको प्रगतिमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो। साथै उनले नेपालको विकास निर्माणमा अमेरिकी सहयोग निरन्तर रहिरहने उल्लेख गर्दै नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियाका बारेमा पनि चासो राखे।
सहायक विदेशमन्त्री लुले नेपालको समृद्ध सांस्कृतिक सम्पदाका रुपमा रहेको भक्तपुर क्षेत्रको भ्रमण पनि गरेका थिए। उनको भ्रमणले अमेरिका–नेपाल साझेदारीलाई सुदृढ तुल्याउँदै दिगो विकास, लैङ्गिक समानता र सामुदायिक सशक्तिकरणलगायत प्रमुख क्षेत्रहरूमा निरन्तर सहकार्य र थप प्रगति हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्