नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली १९.६ ओभरमा १०१ रनमा अलआउट भएको होे ।
कर्णालीका लागि जिसम मकसुदले ३० रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । विलियम बोसि्टले १६ र बाबर हायातले १३ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । स्कट कुगेलेइनले २ विकेट नै लिए ।
आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन् ।
कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ । कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ । त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ ।
काठमाडौं गुर्खाजको भाग्य भने सुदूरपश्चिमको नतिजामा निर्भर हुने छ । सुदूरपश्चिमले कर्णालीलाई आवश्यक नतिजामा हराएमा मात्रै काठमाडौंको भाग्य खुल्नेछ ।
विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्