Ads

नेपालका कम्युनिस्ट एकताबद्ध हुनु आवश्यक : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

माओको जन्मदिनको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओको जन्म भएको थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टी र नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेता हुन् ।

उनलाई संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनको प्रेरणाको स्रोतको रूपमा समेत लिने गरिन्छ । माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचारलाई नेपालका कम्युनिष्ट पार्टीहरूले मार्गदर्शकको रूपमा लिने गर्दछन् ।

यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूत रूपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू