Ads

पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा


काठमाडौँ, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुन् भनेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज  भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी समकालीन नेताहरुमा धेरै अगाडि रहेको बताए ।

सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए ।

नेपाली कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गरे ।उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक सिद्धान्त र आदर्शको राजनीतिलाई श्रीसिंहले निष्ठाका साथ अनुशरण गरेका बताए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता सिंहले निष्ठाको राजनीति गर्ने आदर्श योद्धाका रुपमा आफूलाई स्थापित गरेको बताए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताका अधिकारका लागि सधैँ अग्रमोर्चामा रही स्वर्गीय सिंहले राजनीतिक गरेका सम्झिए ।

नेपाली कांग्रेसका नेताहरु राजेन्द्र केसी, सबुजकृष्ण बानियाँ, भीमसेनदास प्रधान, गोकर्ण केसी र जीवन डङ्गोललगायत वक्ताले काठमाडौँ उपत्यकामा पार्टीको सङ्गठन विस्तार कसरी गर्ने  भन्ने शिक्षा स्वर्गीय सिंहबाट लिनुपर्ने बताए । विसं २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई पिएल सिंहको नेतृत्वमा महानगरपालिका घोषणा गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू