काठमाडाैं । ताप्लेजुङ आउने विदेशी पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ।
कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार पछिल्ला ५ वर्षको तथ्याङ्क नियाल्ने हो भने हरेक वर्ष विदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको हो।
अधिकृत यादवका अनुसार आर्थिक वर्ष २०७६।७७ को एकवर्षे अवधिमा ६ सय ८ जना विदेशी पर्यटक ताप्लेजुङ आएका थिए। कोरोना संक्रमणको मुख्य अवधि आव २०७८।७९ मा यहाँ आउने विदेशी पर्यटकको संख्या २ सय ६ जनामा सीमित भएको थियो। आव २०७९।८० मा बढेर यहाँ आउने विदेशी पर्यटकको संख्या ७ सय १३ पुगेको थियो।
कोरोना संक्रमण शान्त भएपछि यहाँ आउने विदेशी पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गइरहेको संरक्षण अधिकृत यादवले जानकारी दिए। उनका अनुसार आव २०८०।८१ मा १ हजार ८५ जना विदेशी पर्यटक ताप्लेजुङमा आए। चालू आव २०८१।८२ को मंसिर सम्मको तथ्याङ्क अनुसार यहाँ आउने विदेशी पर्यटकको संख्या ८ सय ७७ पुगेको छ। यो पहिलो सिजनकै अवधिमा उक्त संख्याका विदेशी पर्यटक निकै सकारात्मक रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले ठम्याएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार पर्यटनका लागि मुख्य दुई सिजन उपयुक्त मानिन्छन्। चैत, वैशाख, जेठ, भदौ, असोज, कात्तिक र मंसिर महिनामा विदेशी पर्यटक पदयात्राका लागि आउने गरेका छन्। आरोहण भने सबैभन्दा बढी वैशाख र जेठमा हुने गरेको पाइएको छ। असार र साउनमा वर्षा तथा पुस, माघ र फागुनमा हिउँका कारण यो अवधिमा विदेशी पर्यटकको आवागमन कम हुने गर्छ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले सिजनको पहिलो अवधिमै उत्साहजनक रूपमा विदेशी पर्यटक ताप्लेजुङ आएको बताए। आर्थिक वर्षलाई आधार मानेर हेर्दा विदेशी पर्यटकका लागि चैत, वैशाख र जेठलाई दोस्रो तथा भदौ, असोज, कात्तिक र मंसिरसम्मको अवधिलाई पहिलो सिजनको रूपमा हेर्ने गरिएको छ। पहिलो सिजनमै विदेशी पर्यटकहरूको उत्साहजनक उपस्थितिले ताप्लेजुङका पर्यटन व्यवसायीहरूलाई हौस्याएको उनले बताए।
ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्। आठ हजार पाँच सय ८६ मिटर अग्लो कञ्चनजंघा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल हो। कञ्चनजंघा जान तीन वटा पदमार्ग प्रयोग हुँदै आएको छ। सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकामा पर्ने सिँवा–छिरुवा–तापेथोक–घुन्सा हुँदै जान सकिन्छ। तापेथोकसम्म सवारीमा जान सकिन्छ भने त्यस उताको भागमा पैदलयात्रा गर्नुपर्छ।
कञ्चनजंघा जाने अर्को पदमार्ग भनेको सुकेटार हुँदै सिरिजंघा गाउँपालिकाको सिकैचा–तेल्लोकको माथिल्लो भाग–पेदाङ, फुम्पेडाँडा–मामाङ्खे हुँदै याम्फुदिन भएर पुग्न सकिन्छ। तेस्रो पदमार्ग भनेको पाँचथरको गणेशचोक–दाहालगाउँ–सिनाम–आम्बेगुदिन–हप्पुखोला–खेवाङ हुँदै याम्फुदिनसम्म जान सकिन्छ। हिउँद याममा याम्फुदिनसम्मै सवारीमा यात्रा गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्