Ads

आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने


काठमाडाैं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने भएको छ।

ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ।

भूतप उल्का वर्षा पुष १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति अत्यधिक उल्का वर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ। आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने छ।

नासोका अनुसार उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक चाहिँदैन। अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने छन्। अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ। ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमिमाथि वायुमण्डलमा देखिने छन्।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्द छन्। यसैलाई हामी उल्का वर्षा भन्दछौं। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ।

Ads

सम्बन्धित पोष्टहरू