काठमाडाैं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।
बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन् ।
‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौँ,’ उनले भनिन् । राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने भएको छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ ।
‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ । १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ,’ उनले भनिन् । नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् ।
मन्त्री भट्टराईका अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढेको छ । कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ । ‘अब ९ मा मात्र रजिस्ट्रेशन फारम भरे हुन्छ । आगामी वर्षदेखि रजिस्ट्रेशन शुल्क लाग्दैन । विद्यार्थीबाट राजश्व उठाउने होइन,’ उनले भनिन्, ‘विद्यार्थीबाट विलम्ब शुल्क पनि नलिने निर्णय भएको छ ।’
प्रतिक्रिया दिनुहोस्