Ads

चितवन महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै


मुग्लिन (चितवन) । चितवनको नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा गत पुस २५ गतेदेखि उद्योग वाणिज्य संघको आयोजनामा १५औं संस्करणको चितवन महोत्सव जारी छ । यहाँ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दाबढी व्यापारिक कक्ष (स्टल) रहेका छन् ।

त्यसमध्येको एक स्टल हिमालयन चियाको छ । उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुःशल्क रुपमा महोत्सव घुम्न आएकालाई चखाइएको छ । चिया चाख्नका लागि उक्त स्टलमा भीड नै लाग्ने गरेको छ ।

नेपाली चियाको प्रवर्द्धन एवं युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवनमार्फत हिमालयन चियालाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थोडक्स चिया र उच्च गुणस्तरको सीटीसी चिया चखाइराखिएको बताए ।

चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउने काम गरिएको उनले बताए । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उनले जानकारी दिए ।

नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुने गरेको र स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भए पनि वार्षिक ८ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि नेपालीलाई नेपालकै उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको उनी बताउँछन् ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवर्द्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव २०८१ पुस २५ बाट सुरु भएको थियो भने यही माघ १० गतेसम्म सञ्चालन हुनेछ । रासस

 

 

Ads

सम्बन्धित पोष्टहरू