Ads

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री


गण्डकी, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन् ।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिकलगायत क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्राप्त सहयोगप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गरे।

भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यहाँस्थित पेन्सन वितरण कार्यलय यस क्षेत्रको महत्वपूर्ण संस्थाका रुपमा अघि बढेको बताए । आपसी निकटता र पारिवारिक सम्बन्धले दुई देशलाई अझ नजिक तुल्याएको बताउँदै उनले दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गरे ।

दुई देशबीचको सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध हजारौँ वर्षदेखिको भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यी विषय रामायाण, महाभारतमासमेत उल्लेख भएको बताए ।

भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख प्रशान्तसिंह बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्यनिष्ठाका लागि प्रसिद्ध गोर्खाली सैनिक रहेका भन्दै सैनिक आश्रित परिवारको सेवारत एवं सेवानिवृत्तपश्चात् पनि आवश्यक सेवा र सुविधालाई सधैँ उच्च प्राथमिकताका साथ कार्यालयले हेर्दै आएको बताए ।

भारतीय सेनाको इतिहासमा नेपालबाट सबैभन्दा बढी गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट भएको जनाउँदै उनहरूले देखाउनुभएको बहादुरी र इमान्दारीता प्रशंसायोग्य रहेको बघेलले बताए ।

Ads

सम्बन्धित पोष्टहरू