Ads

आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’


इलाम । इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।

चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिए । चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाका साथै आयोजक रङ्गमञ्चका एक नाटक मञ्चन हुनेछन् ।

नाट्य महोत्सवको पहिलो दिन आज आयोजक चालचुली रङ्गमञ्चले  ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन हुनेछ । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद हुने जनाइएको छ ।

मंगलबार चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले  ‘द ल्याण्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन हुने आयोजकले जनाएको छ । सोही दिन कुलुङ भाषा संस्कृति उत्थान सङ्घ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवादसँगै महोत्सवको समापन गरिने अध्यक्ष आङ्थुपोले बताए ।

‘विश्वव्यापारीकरमा ग्रामीण सौन्दर्यको खोजी नारासहित तेस्रो संस्करणको नाट्य महोत्सव आयोजना गर्दैछौँ’, उनले भने, ‘नाट्य महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रङ्गमञ्च अन्तरसंवाद गरिनेछ ।’

भूमि, कला र पर्यावरणको सम्मिश्रणमा चुलाचुली पाठशाला नाट्य उत्सव आयोजना गरिने उनले बताए । ‘शैक्षिक संस्थालाई रङ्गमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्यास गरेका छौँ । अभ्याससँगै नाटक मात्रैभन्दा पनि पर्यावरणबारे पनि बुझाउने हाम्रो प्रयास हो’, अध्यक्ष आङथुपोले भने, ‘हामीले भूमि, कला र पर्यावरण कलाको सम्मिश्रणमा खुला ठाउँमा नाट्य उत्सव गर्दैछौँ ।’

रङ्गमञ्चका सचिव सन्तोष गिरीले समुदायसँग सहकार्य गर्दै समुदायको सीप कलामा जोड्दै आएको बताए । ‘समुदायसँग रङ्गमञ्च जोड्ने र स्थानीय ठाउँमा रहेका माटो, ढुङ्गा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाएका छौँ’, उनले भने, ‘हामीले प्राकृतिक चिजलाई कसरी कलात्मक बनाउने भन्ने अभ्यास गरिरहेका छौँ ।’

नाट्य महोत्सवलाई प्रोत्साहन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक  सहयोग गरेको छ । स्थानीयस्तरमा हुने कला र संस्कृतिको संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनले भने, ‘हाम्रो पालिकाभित्रका विभिन्न प्रतिभाको गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ ।’ चुलाचुली रङ्गमञ्चले यसअघि २०७६ सालमा पहिलो र २०७९ सालमा दोस्रो नाट्य महोत्सव आयोजना गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू