Ads

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार


म्याग्दी (बेनी) । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७, दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन् । सुन्तलाखेतीले नै आफूलाई आत्मनिर्भर बनाएको उनी बताउँछन् ।

१२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए ।  ‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ । तर, अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ । आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ,’ मगरले भने ।

केही वर्षअघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर, अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन् । कुल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यस वर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ बढी भित्रिएको छ ।

पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाख रुपैयाँको सुन्तला बिक्री भएकोमा यस वर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए । ‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ । कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ’, पाइजाले भने ।

उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, मटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रिने स्थानीयवासीको अनुमान छ ।

दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तलाखेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आएका विकास श्रेष्ठले दोसल्लेमा व्यावसायिक सुन्तलाखेती गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेका छन् ।

खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ । दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुँदै आएको छ । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्वुजाले बताए । ‘अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुस्किल थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अवस्थामा सुधार भएको छ, घरघरमै रोजगारी सिर्जना भएको छ’, गर्बुजाले भने ।

सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ । बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ । गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ ।

Ads

सम्बन्धित पोष्टहरू