Ads

संसद्ले बनायो माघ महिनाको क्यालेन्डर, पहिलो दिन शीर्ष नेताले सम्बोधन गर्ने


काठमाडाैं । माघ १८ देखि शुरू हुने संसद्को हिउँदे अधिवेशनका लागि प्रतिनिधि सभाले क्यालेन्डर तयार गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग बसेर माघ महिनाको क्यालेन्डरमा सहमति गरेका हुन् ।

सचिवालयका एक अधिकारीका अनुसार माघ महिनामा प्रतिनिधिसभाका ७ वटा बैठक बस्ने छन् । १८ गते पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

पहिलो दिनको बैठकमा बोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै समय मागिसकेका थिए । अधिवेशनको शुरूकै दिन राष्ट्रपतिबाट जारी भएका अध्यादेश पेश गर्ने कार्यसूची बनाइएको छ ।

दोस्रो बैठकबाटै अध्यादेश पारित गर्नेगरी सचिवालयले तयारी गरेको छ । माघ १८, २२, २३, २४ गतेका दिनमा प्रतिनिधिसभाको बैठक बस्ने सहमति भएको छ ।

यस्तै माघ २८, २९ र ३० गतेपनि प्रतिनिधिसभाका बैठक बस्नेछन् । पछिल्लो समय संसद्ले आफै क्यालेन्डर बनाएर बैठक बस्ने दिन तोक्ने गरेको छ ।

हिउँदे अधिवेशनलाई तनावरहित बनाउन सभामुखले सत्ता र प्रतिपक्षी दलका सचेतकहरूसँग छुट्टा छुट्टै बैठक गरेका छन् । हिउँदे अधिवेशनमा संघीय निजामती विधेयक, विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी सरकारले गरेको छ ।

यता, सरकारको कार्यशैलीको विरोध गरेका नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलले भने संसदभित्र सशक्त आवाज उठाउने तयारी गरेका छन् ।

अधिवेशन बोलाउन विलम्ब गरेको भन्दै विपक्षी दलले विशेष अधिवेशन बोलाउन राष्ट्रपति समक्ष समावेदन गर्ने सम्मको तयारी गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू