Ads

पाथीभरा प्रभावित क्षेत्रका सांसदसँग गृहमन्त्रीले छलफल गर्ने


काठमाडाैं । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा देखिएको बढ्दो तनाव कम गर्न सरकारले अग्रसरता बढाएको छ।

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार (आज) साँझ ५ बजे ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने भएका छन्।

ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लीलादेवी बोखिमले आफूहरूलाई छलफलका लागि गृह मन्त्रालयबाट बोलावट भएको जानकारी दिइन्। उनले ताप्लेजुङसहित पाँचथर, इलाम र तेह्रथुमका सांसदहरूलाई बोलाइएको सूचना आफूले पाएको जानकारी दिइन्। आफू चितवनमा रहेको बेला गृह मन्त्रालयबाट खबर आएपछि काठमाडौँ फर्कने तयारी गरेको सांसद बोखिमले जानकारी दिइन्।

पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा गत शनिबार ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाएते भएका ‘नो केबलकार’ पक्षधरका ३ जनाको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। घाइते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ७ जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्लास्थित सुरक्षास्रोतले जनाएको छ।

सुरक्षाकर्मीले आफूहरूमाथि ज्यादती गरेको भन्दै ‘नो केबलकार’ पक्षधरले आजबाट मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालीन यातायात बन्दको आवह्वान समेत गरेका छन्। बन्दकर्ताहरूले ताप्लेजुङमा दुई पाङ्ग्रे सवारी साधन समेत कुद्न दिएका छैनन्।

Ads

सम्बन्धित पोष्टहरू