Ads

घरेलु मैदानमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो


काठमाडाैं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२५ रन बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन्। त्यस्तै ओपनर सम्झना खड्काले २३ रन जोड्दा पूजा महतोले १८ र कविता जोशीले १४ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

डच टोलीका लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई विकेट लिए। त्यस्तै इभा लिन्च र इसाबेला भान डेर वनिङको नाममा समान एक विकेट रह्यो।

यस अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४१ रनको योगफल तयार पारेको थियो।

भ्रमणकारी टोलीका लागि क्याप्टेन बेबेट डी लिडले ४१ र हेथर सेइगर्सले २६ रनको योगदान गरे। फेबी मोल्केन्बोर र रोबिन रिकेले समान २१ रन बनाए।

नेपालका लागि सिता राना मगरले ५ विकेट लिइन्। इनिङ्सको १८ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएकी उनले मात्र एक रन खर्चेर ३ विकेट लिएकी हुन्।

२०औं ओभरमा उनले थप २ विकेट लिइन्। मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु बर्माले समान एक विकेट लिए। सुरुवाती तीन ओभरमा मात्र ११ रन दिएकी रुबिना क्षेत्रीले आफ्नो चौथो ओभरमा भने १२ रन दिइन् ।उनले विकेट लिन सकिनन्। पूजा महतो र रेवती रावल भने महंगो सावित भए।

यो नेपालको लगातार तेस्रो हार हो। यसअघि नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको थियो। बिहीबार नेदर्ल्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो। हारसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ।

थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन्। हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन्। तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।kha

Ads

सम्बन्धित पोष्टहरू