Ads

भरतपुरमा माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन गरिने


चितवन, । भरतपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप दिइने आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । यो अभियान माघ २२ देखि फागुन २ गतेसम्म हुनेछ ।

यस्तै सोहि अवधिमा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए । उनका अनुसार भरतपुरमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । यो खोप सुरक्षित र प्रभावकारी समेत भएको उनले बताए ।

‘हाल चीनमा तयार गरिएको सिकोलिन नाम एचपिभि खोप देशभरी नै लगाउन लागिएको छ’, उनले भने ‘यो खोप एकदमै सुरक्षित तथा प्रभावकारी छ ।’ यस खोप एक डोज लगाए पुग्ने उनले बताए । झोलमा उपलब्ध हुने यस खोप पाखुराको माथिल्लो भागमा लगाइने छ ।

अभियान सफल कार्यान्वयनका लागि महानगरले यहाँका सबै विद्यालय र विद्यालयमा सकिएपछि अन्तिम दिनमा सम्बन्धित वडाका स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालन गरिनेछ । १९३ वटा खोप केन्द्र रहने अभियानमा २०१ जना स्वास्थ्यकर्मी तथा ४०२ जना स्वयंसेवक परिचालित हुने बताए । यो अवधिमा विद्यालय भित्रका १६ हजार १६९ र विद्यालय बाहिरका ४२३ जनागरी १६ हजार ४९२ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । तर चितवनमा यसभन्दा अगाडि पनि खोप लगाइएकाले यो संख्यामा घट्ने सुवेदीको अनुमान छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । त्यसैले सानो उमेरमा भ्याक्सिन लगाउने हो भने पाठेघरको क्यान्सर कम गर्न सकिने विश्वास सरकारको छ । चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । यो उमेर बालिका यौनजन्य क्रियाकलापमा सक्रिय नहुने भएकाले भ्याक्सिन लगाउन बढी प्रभावकारी हुने भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू