Ads

विश्वप्रकाशको संगीत र प्रमोद खरेलको स्वरमा भ्यालेन्टाइनमा आयो प्रेमिल गीत


मान्छेको सिंगो जीवनलाई एउटा यात्रा मान्ने हो भने त्यो यात्रामा उसले मूलबाटो मात्रै हिँडेको हुँदैन।

मान्छे कहिले गल्लीहरूमा भौतारिइरहेको हुन्छ। कहिले गोरेटोमार्फत यात्रा अघि बढाइरहेको हुन्छ। विश्वप्रकाश शर्माका लागि पनि राजनीति उनकै शब्दमा यो यात्राको मूलबाटो हो। मुलुककै सबैभन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेसको महामन्त्रीका रूपमा उनी ‘मूलबाटो’ को यात्रामा दौडिरहेका छन्।

यसक्रममा उनले चहार्ने गोरेटोहरूको संख्या भने अरू धेरै छ। उनी कहिले हिमाल आरोहण गरिरहेका हुन्छन्, कुनैबेला टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन्।

लेखन उनको रूचिको विषय भइहाल्यो। त्यसबाहेक संगीत सिर्जना उनले हिँड्न मन पराइरहने गोरेटो हो।

यही गोरेटो यात्राको एउटा उपलब्धि स्वरूप उनले संगीत भरेको एउटा प्रेमिल गीत दर्शक स्रोतामाझ सार्वजनिक भएको छ। प्रेमजोडीहरुको ‘प्रिय पर्व’ भ्यालेन्टाइन डे को अवसरमा बिहीबार साँझदेखि गीतको म्युजिक भिडिओ युट्युबमार्फत सार्वजनिक भएको छ।

प्रमोद खरेलको स्वर र प्रमोदहरि गुरागाईले लेखेको गीतमा शर्माले धुन भरेका हुन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् भने आकाश श्रेष्ठ र प्रियना आचार्यको अभिनय छ।

गीतको म्युजिक भिडिओले कसैको कहीँ पनि प्रेम बस्न सक्ने अवस्थाको व्याख्या गरेको छ।

भनिन्छ, घर बनाउन शुभ मुहुर्त आवश्यक हुनसक्छ, बिहे गर्न पनि मुहुर्त चाहिनसक्छ। कसैको कोहीसित प्रेम अंकुराउन कुनै मुहुर्त चाहिन्न। कहिँ पनि कुनै पनि बेला, कोहीसँग प्रेम हुनसक्छ।

अचानक बाटोमा भेटिएको कसैसँग प्रेम बसेपछि त्यो यात्रीले बाटो भुलेर उसैभित्र हराएको दृश्यको वर्णन गीतको म्युजिक भिडियोले गरेको छ।

मन त्यतै कतै
भुलेछु प्रिये
तिमी सँगै छँदा सँगै थियो
छुटेपछि छुटेछ त्यतै

अहिलेसम्म दर्शक–स्रोतामाझ आएको विश्वप्रकाशको यो २४ औं गीत हो। व्यस्त राजनीतिक दौडादौडीका बीच गीतमा धुन भर्ने समय कसरी निक्लन्छ?

‘मुख्यतः बिहानको समय मेरो सिर्जनशील कामहरूमा बितिरहेको हुन्छ,’ शर्माले भने, ‘यात्रामा पनि धुन फुर्नसक्छ। खासगरी बिहानै चार बजेतिरको समयमा धुन बनाउने गर्छु।’

यस्तै फुर्सदको उपयोग गरेर उनले ०६७ सालमा स्वीकृति नामक एल्बम बजारमा ल्याएका थिए। त्यसमा समेटिएका ११ वटा गीत शर्माकै शब्द र संगीतका सिर्जना थिए। त्यस्तै ०७१ सालमा नेपाल जेसिसका गीतहरुको संगालो देश पनि उनकै एकल शब्द संगीतमा सार्वजनिक भएका थिए। जसमा ६ वटा गीत समाविष्ट थिए।

त्यसो त उनका काका चन्द्र भण्डारी र दाइ टीका भण्डारी दुवै जना नामी संगीतकर्मीहरु हुन्। आफूलाई उनै दुई अभिभावकको सकारात्मक प्रभाव परेको शर्माको भनाइ छ।

‘काका र दाइको प्रभावले गीतसंगीतमा सानैबाट झुकाव बढ्यो,’ उनी भन्छन्, ‘यद्यपि मेरो मूलबाटो राजनीति भयो। सिर्जनकर्म गोरेटो।’

 

Ads

सम्बन्धित पोष्टहरू