काठमाडौं । फागुन १८ गते किरात वाम्बुले राईको ‘स्वालेवा स्तम्भ पार्क’ उद्घाटन हुने भएको छ।
ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा-३ स्थित वाम्ड्याल(उँबु)मा निर्माण गरिएको पार्क फागुन १८ गते उद्घाटन हुने आयोजक वाम्बुले राई समाज, नेपाल(वाम्रास)ले जनाएको छ।
उँबुमा ३५ फिट अग्लो स्वालेवा (चिण्डो) निर्माण गरिएको छ। किराती संस्कृतिअनुसार चिण्डो (स्वालेवा) र अदुवा धर्मकर्म र मृत्युकर्ममा अनिवार्य मानिन्छ। किरात वाम्बुले राईहरूको भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन र पुर्ख्यौली विरासत झल्काउने गरी निर्माण गरिएको स्वालेवा पार्कले यसको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ।
वाम्रासका अध्यक्ष गजुरधन राईले ‘वाम्बुले राईको उत्पत्ति थलो वामड्याल जाऔं, रितुम मुक्तुम र स्वालेवाको गरिमा बुझौं’ भन्ने नारासहित सांस्कृतिक प्रतीक स्वालेवा स्तम्भ पार्कको उद्घाटन गर्न लागिएको जानकारी दिए।
उनका अनुसार उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा र ओखलढुंगाका संघीय सांसद रामहरि खतिवडा तथा पूर्व संघीय माननीय यज्ञराज सुनुवारको विशेष आतिथ्यमा हुनेछ।
प्रतिक्रिया दिनुहोस्