Ads

धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक


म्याग्दी । सडक सुविधा पुगेसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने  धौलागिरि गाउँपालिकाको बगर, सिम्कोसका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा लाभान्वित भएका छन् । धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव बस्ती बगरमा गत हप्ता सडक पुगेको हो । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत् आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत निर्माण भएको सडकबाट स्थानीयवासीलाई सुविधा पुगेको बताए ।

धौलागिरि गाउँपालिका–४ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रि खोलादेखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका हुन् ।

अहिले सो क्षेत्रमा सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेका छन् । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीन वटा जलविद्युत् आयोजना निर्माण सुरू भएका र पाँच वटा निर्माणको तयारीमा रहेका मध्य धेरैजसोको निर्माण् स्थल वडा नं ४ को भूगोलमा पर्छ ।

आइतबार धौलागिरि गाउँपालिका–४ बगर पुगेका म्याग्दी १(२)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन जलविद्युत् आयोजनासँग समन्वय गर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू