चितवन, । पत्रकार सङ्गीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित छन् । उनको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको हो । नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्य बानियाँलाई सुरुआतमा स्तन क्यान्सर देखिएको थियो ।
उक्त क्यान्सर पूर्ण रुपमा निको भए पनि पुनः मस्तिष्कमा क्यान्सर देखिएको बानियाँले बताए। अहिले चितवन मेडिकल कलेजको क्यान्सर वार्डमा उपचाररत बानियाँले आफ्नो उपचारका क्रममा चल–अचल सम्पत्ति बेचबिखन गरिएको र ऋण काढेर उपचार गर्दागर्दै पनि थप उपचारका निम्ति रकमको अभावका कारण आफ्नो जीवन बचाएर नाबालिका छोरीलाई टुहुरी हुनबाट जोगाइदिन सबैमा आग्रह गरेका छन् ।
हाल वैदेशिक रोजगारका क्रममा रहेका श्रीमान् र एक नाबालिका छोरीसँगै सामान्य जीवनयापन गरिरहेको उनको परिवारसँग थप उपचारका लागि रकम अभाव भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १४ घर भएकी बानियाँको परिवार र माइतको आर्थिक अवस्था कमजोर रहेको छ ।
बानियाँको उपचारका लागि यसअघि रु ४० लाख खर्च भइसकेको छ भने मस्तिष्क क्यान्सर उपचारमा थप रु ४० लाख लाग्ने चिकित्सकले जनाएको उनले बताए । थप उपचारका लागि भारत जानुपर्ने भएकाले आर्थिक अभावका कारण जान नसकेको बानियाँले बताए । उनले भने “उपचारका लागि आर्थिक अभाव भयो । उपचार गर्न पाए बाँच्न सक्थे भन्ने आत्मविश्वासका साथ उपचार गराइरहेकी छु ।” रासस
प्रतिक्रिया दिनुहोस्